भक्तपुर । भक्तपुरको गोल्डेन गेट ईंग्लिस सेकेण्डरी स्कूलले तेस्रो गोल्डेन गेट पिबिएल मेला २०८० आयोजना गरेको छ । उक्त मेलाको उद्घाटन समारोहलाई छात्राहरुले बाँसुरीमा बजाएको मंगल धुनसँगै प्रमुख अतिथि भक्तपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले गरेका थिए ।
सो क्रममा उनले कक्षा ९ का विद्यार्थीहरुले निर्माण गरेको वेटर रोबोटले टक्र्याएको लाईटर प्रयोग गरेर पानसमा दियो प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । नयाँ जमानाको रोबोटिक्स सहित परम्परागत बाँसुरी बाजाको धुनबीच भएको सो उद्घाटन अत्यन्त रोचक र हर्सोल्लासमय बनेको थियो ।
कार्यक्रममा प्रमुख फुयालले बच्चाहरुमा अन्तर्निहित विविध गुणहरुलाई वैज्ञानिक रुपमा पहिचान गरेर त्यस अनुसारका क्रियाकलाप मार्फत सिकाउने विद्यालयको अभ्यास फरक र सराहनीय भएको बताए । जीवन र जगतसँग प्रत्यक्ष रुपमा सम्बन्धित ज्ञान र सीप दिन र सिर्जनशीलताको प्रस्फुटन गर्न यस्तो शिक्षण विधि अत्यन्त प्रभावकारी हुने बताउँदै उनले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे ।
विद्यालयले आफ्नो यो अभ्यासलाई थप प्रभावकारी बनाउन र आम शैक्षिक सचेतना सिर्जना गर्न वि.सं. २०७५ देखि वार्षिक रुपमा पिबिएल मेला समेत आयोजना गर्दै आएको छ । यही क्रममा २०८० फागुन २४ गते विहीबार सो कार्यक्रमको तेस्रो संस्करण सम्पन्न गरिएको हो ।

स्मरणमा आधारित नेपालको शिक्षामा रुपान्तरण शिक्षा क्षेत्रको टड्कारो आवश्यकता र जल्दोबल्दो बहस हो । हो, ठीक त्यस्तै ध्येय लिएर वि.सं. २०४३ मा स्थापित भक्तपुरको गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले विगत एक दशकदेखि विद्यार्थीहरुको सिकाईलाई वैयक्तिक बहुबुद्धिमत्तासँग र वैयक्तिक बहुबुद्धिमत्तालाई विविधिकृत सिकाईक्रियाकलापहरुसँग जोडी गराईको अनुभव र अनुभवमा रिफ्लेक्शन मार्फत गहिरो सिकाई घटित गराउने अभ्यास गर्दै आएको छ । यसका लागि विद्यालयले डा. होवार्ड गार्नरद्वारा प्रतिपादित मल्टिपल ईन्टेलिजेन्सेज र जोन डिवीलगायतका शिक्षाविदहरुबाट विकासित प्रोजेक्ट बेस्ड लर्निङलाई संश्लेषण गरेर एमआई पिबिएल पद्दतीको विकास र अभ्यास गर्दै आएको जनाएको छ ।
विद्यालयका प्रिन्सिपल तथा कोफाउण्डर सिङ्ग लामाले विद्यालयले वैयक्तिक बहुबुद्धिमत्ता अनुसारका प्रोजेक्ट कृयाकलाप गरेर सिक्ने एमआई पिबिएलको साथमा हरेक विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा न्यूनतम ५० वटा पुस्तक अध्ययन गराउने वृहत पठन संस्कार, सर्जकीय रुपान्तरणका लागि मकै घर र विद्यार्थीहरुमा अन्तर्निहित स्टार क्वालिटी प्रस्फुटनका लागि गोल्डेन स्टार कार्यक्रम लगायत थुप्रै नवीन अभ्यासहरु गर्दै आएको बताउँदै यस यात्रामा अभिभावकहरुको साथ, सहयोग र संलग्नताको प्रशंसा गर्दै कृतज्ञता समेत व्यक्त गरे ।

सयौंको संख्यामा अभिभावकहरुको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम आन्तरिक रुपमा संचालन गरिएको भएपनि प्रोग्रसिव लर्निङमा विद्यालयको पृथक अभ्यासलाई नजिकबाट अवलोकन गर्न चितवन, काठमाडौं र काभ्रेबाट समेत विभिन्न विद्यालयका प्रिन्सिपल एवं शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए ।

(यो समाचार https://www.bhaktapurtimes.com/2024/03/34511/ मा प्रकाशित छ । )