भक्तपुर । भक्तपुरको महाकालिस्थानमा अवस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूल एउटा विद्यालय मात्र होइन, चार दशक नजिकको समयदेखि शिक्षालाई जीवनसँग जोड्दै आएको शैक्षिक केन्द्र हो। यही निरन्तरता, अनुभव र नविन सोचको यात्रालाई स्मरण गर्दै विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेकाे छ ।
विद्यालयको नवनिर्मित प्राइमरी प्यालेसको सभाहलमा आयोजित उक्त कार्यक्रममा शिक्षा, संस्कार र सिर्जनशीलताको सुन्दर संगमकाे प्रस्तुति भएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष एवं वरिष्ठ शिक्षाविद् डा. महाश्रम शर्माले विद्यार्थीहरूको सिकाइ क्रमशः र चरणबद्ध रूपमा विकास हुने तर बिर्सने प्रक्रिया भने एकैपटक ५० प्रतिशतसम्म हुन सक्ने वैज्ञानिक यथार्थ औँल्याएका थिए। यही यथार्थलाई मनन गर्दै गोल्डेन गेटले अवलम्बन गरिरहेकाे लर्निङ कर्भमा आधारित विस्मरण प्रतिरोधी सिकाइ प्रणाली र व्यवस्थित परीक्षा पद्धति प्रशंसनीय तथा अनुकरणीय रहेको बताए ।
आज देशभर बोर्डमा कृषि पढाएर ४ जीपीए दिलाउने जस्ता अव्यावहारिक अभ्यासहरू बढ्दै गएका छन्, डा. शर्माले भने, तर गोल्डेन गेटले पाठ्यक्रमलाई जीवनसँग जोडेर अनुभवजन्य सिकाइ निर्माण गरिरहेकाे छ, जुन वास्तवमै उदाहरणीय छ।
विद्यालयले अपनाएको मल्टिपल इन्टेलिजेन्सेजमा आधारित पिबिएल (Project Based Learning), वर्षमा ५० वटा पुस्तक अध्ययन गराउने एक्स्टेन्सिभ रिडिङ, तथा विद्यार्थीहरूलाई सिर्जनात्मक रूपान्तरणको अवसर दिने मकै घर कार्यक्रमले शिक्षा केवल कक्षाकोठामा सीमित नहुने सन्देश दिइरहेकाे छ । उक्त सन्दर्भ काेट्याएका डा. शर्माका अनुसार विद्यालयकाे यस्ता अभ्यासले विद्यार्थीलाई सोच्न, सिर्जना गर्न र जीवन बुझ्न सिकाउँछ। शिक्षाले ज्ञान र सीप मात्र होइन, चरित्र, नैतिकता, अनुशासन, इमानदारी र मानवीय मूल्यको विकास गराउन सक्नुपर्छ, उनको जाेड थियोे ।
कार्यक्रमका विशेष अतिथि प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिका सचिव विजय कर्माचार्यले गोल्डेन गेटको सामाजिक प्रभाव स्मरण गरे । उनमा अनुसार विगत चार दशकमा भक्तपुरको कोर एरियाका प्रायः हरेक घरमा गोल्डेन गेटका विद्यार्थी कोही न कोही अवश्य भेटिनु विद्यालयको विश्वास र प्रभावको प्रमाण हो।
युरोकिड्स कोअर्डिनेटर तथा मोन्टेसरी ट्रेनर रश्मी सुवालले गोल्डेन गेटसँगको प्रिस्कूल कन्सल्टिङ अनुभव साझा गर्दै विद्यालयले न्यूनतम शुल्कमै अन्तर्राष्ट्रिय स्तरका शिक्षण विधि, कक्षाकोठा संरचना र कार्यक्रम सञ्चालन गर्न सफल भएको चर्चा गरिन् । यहाँ अध्ययन गर्ने विद्यार्थी र अभिभावकहरू साँच्चिकै भाग्यमानी हुनुहुन्छ, उनकाे भनाइ छ ।
विद्यालयका प्रिन्सिपल तथा कोफाउन्डर सिङ्ग लामाले गोल्डेन गेटको ३९ वर्षे शैक्षिक यात्राको संक्षिप्त चित्र प्रस्तुत गर्दै लर्निङ कर्भ सहजीकरण कक्षा, एमआईपिबिएल, फोनिक्स रिडिङ, गोल्डेन स्टार्स, विद्यार्थी प्रोफाइलिङ लगायतका अभ्यासले विद्यार्थीलाई परीक्षाका लागि होइन, जीवनका लागि तयार पार्ने लक्ष्य राखेको स्पष्ट पारे ।
स्थानीय कला, संस्कृति र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गोल्डेन गेट सांस्कृतिक संग्रहालय तथा तालिम र कार्यशालाका लागि नयाँ आईसिटी हल निर्माणाधीन अवस्थामा रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नेवारी जन्मदिन संस्कारको नाट्य प्रस्तुति, धिमे बाजा लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ५० भन्दा बढी पुस्तक अध्ययन गरेका ९० जना विद्यार्थीहरूलाई गोल्डेन रिडर्स ब्याच, गोल्डेन स्टार्सका चरण पूरा गरेका विद्यार्थीहरू तथा ईसीए फेस्टका २१० जना विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयका सीईओ शिव श्रेष्ठले सञ्चालन कार्यक्रममा सेकेण्डरी लेभल इन्चार्ज श्रीषा सितिखूले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रम संस्थापक निर्देशक अञ्जु जोशीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले ३९ वर्षको यात्रामा गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले भक्तपुरको शैक्षिक पहिचानको एउटा बलियो पहिचान बनाइसकेकाे जनाइन् ।
नोटः यो समाचारमा https://bhaktapurtimes.com.np/archives/2590मा प्रकाशित छ ।










