शिक्षालाई जीवनसँग जोड्दै गोल्डेन गेट: भव्यताका साथ सम्पन्न भयो पाँचौं पिबिएल मेला


भक्तपुरको गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले शिक्षालाई वास्तविक जीवनसँग जोड्ने आफ्नो विशिष्ट अभ्यासलाई निरन्तरता दिँदै पाँचौं गोल्डेन गेट पिबिएल मेला २०८२ भव्यताका साथ सम्पन्न गरेको छ ।

स्थापनाको ३९औं वर्ष पार गरेको यस विद्यालयले आयोजना गरेको मेलाको औपचारिक उद्घाटन प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले गर्नुभएको थियो । उहाँले विद्यालयले सुरु गरेको गोल्डेन गेट साँस्कृतिक संग्रहालयलाई पौराणिक लाल्टीन प्रज्वलन गरी समुद्घाटन गर्दै प्रोजेक्ट-बेस्ड लर्निङ (PBL) ले शिक्षण विधिमा क्रान्तिकारी रूपान्तरण ल्याएको बताउनुभयो । डा. सुवालले कक्षा १ देखिनै बालबालिकाहरुमा व्यावहारिक सिकाई र उच्च आत्मविश्वास जगाउन सफल भएकोमा खुसी व्यक्त गर्दै भक्तपुर नगरपालिकाले ख्वपलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यमा यस्ता शैक्षिक अभ्यासले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि एवं शिक्षा मन्त्रालयका विज्ञ सल्लाहकार अभिषेक घिमिरेले गोल्डेन गेटको मल्टिपल इन्टेलिजेन्सेजमा आधारित पिबिएल अभ्यास प्रिन्सिपल सिङ्ग लामाको लामो अध्ययन र खोजको उपज भएको उल्लेख गर्नुभयो । उहाँले पाठ्यक्रमलाई प्रत्यक्ष रूपमा समाज र जीवनसँग जोड्ने यो उत्कृष्ट मोडेललाई शिक्षा मन्त्रालयले देशैभरी विस्तार गर्नुपर्ने र गोल्डेन गेट देशकै एउटा ल्याब स्कूल को रूपमा विकास हुने सम्भावना रहेको विचार राख्नुभयो ।

विशेष अतिथि एवं वरिष्ठ संगीतकार प्रदीप बोम्जनले विद्यार्थीहरूको व्यक्तित्व विकास र व्यावहारिक शिक्षामा गोल्डेन गेटको अनुसन्धानात्मक शैली उदाहरणीय रहेको बताउनुभयो । कार्यक्रममा वडा नं. ६ का जनप्रतिनिधि रोशनमैंया सुवाल र युलाईक जब्स का सीईओ प्रकाश गौतमले पनि व्यावहारिक शिक्षाको महत्त्व र गोल्डेन गेटको नवीन प्रयोगको सराहना गर्नुभयो ।

प्रिन्सिपल सिङ्ग लामाले सिकाईको ध्येय बदल्ने क्रममा सन् २००६ देखि हालसम्मको विकासक्रम प्रस्तुत गर्दै सन् २०१४ देखि बहुबुद्धिमत्ता सिद्धान्त र पिबिएललाई संश्लेषण गरी एमआई पिबिएल लागू गरिएको जानकारी दिनुभयो । अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको मेलामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले तयार पारेका १०९ वटा चुनिएका प्रोजेक्टहरू प्रदर्शनमा राखिएका थिए ।

साथै विद्यार्थीहरूलाई पाठकबाट सर्जकमा रूपान्तरण गर्ने अभियान अन्तर्गत मकै घर कार्यक्रममार्फत सिर्जना गरिएका १५७० अंग्रेजी र १४४१ नेपाली रचनाहरू पनि प्रस्तुतीमा राखिएका थिए । १० वटा स्पटलाईट प्रोजेक्टहरू समेटिएको विशेष कार्यक्रम पुस्तिका र आर्ट क्लबका विद्यार्थीहरूले तयार पारेका चित्रहरूको प्रदर्शनीले मेलालाई थप आकर्षक बनाएको थियो ।

विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सीईओ शिव श्रेष्ठले गर्नुभएको थियो भने सेकेण्डरी लेभल इन्चार्ज श्रीषा सितिखूले स्वागत मन्तव्य राख्नुभएको थियो ।

नोटः यो समाचारमा https://www.gyankhabar.com/2026/02/15/9413/ मा प्रकाशित छ ।